Sajhamanch Archive

ओमानविरुद्ध पहिलो खेल खेल्दै नेपाल

Published: (Updated: ) in खेलकुद, by .

काठमाडाै‌ं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (बुधबार) बाट एसिया कप छनोट यात्रा सुरु गर्दै छ। केहि समय पछि सुरु हुने खेलमा नेपालले ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैै छ।

मलेसियाको क्वालालाम्पुरस्थित वायुमास ओभलमा हुने खेलमा नेपाल पहिलो खेलमा नै जित निकाल्ने ध्याउनमा हुने छ। श्रीलंका अभ्यासमा तीन खेलमा तीनओटामा नै जित निकालेकाले पनि नेपाल बलियो आत्माविश्वासका साथमा मैदानमा हुने छ। एकदिवसीय विश्वकप छनोटका दौरान एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालका लागि एसियाकप खेल्न पाउनु अर्को ठूलो सपनाका रूपमा हेरिएको छ।

यो अवसरलाई यथार्थमा बदल्न नेपालले प्रतियोगिताको शीर्ष स्थानमा रहने प्रयास गर्नेछ। प्रतियोगिताको शीर्ष स्थानमा रहनु भनेको एसियाकपमा विश्व क्रिकेटका शक्तिशाली राष्ट्रहरू भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउने भएकाले पनि नेपाल इतिहासको यो स्वर्णिम मौकालाई चुकाउन चाहँदैन। प्रतियोगितामा नेपालजस्तै यूएई, हङकङ, मलेसिया, सिंगापुर, ओमान पनि विश्व क्रिकेटमा दबदबा बनाएका देशविरुद्ध भिड्न उत्तिकै लालायित छन्। यसकारण छनोट खेल सबैका लागि उतिकै महत्वपुर्ण रहेको छ। नेपाली टिमका प्रशिक्षक जगत टमाटाले पहिलो खेल नै नेपालका लागि महत्वपूर्ण भएको बताए। श्रीलंकामा तीन खेलको अभ्यासपछि सोमबार मलेसिया पुगेको नेपाली टिम मंगलबार अभ्यासमा व्यस्त रहँदा प्रशिक्षक टमाटाले सबैको लक्ष्य एसियाकप छनोट भएकाले सोहीअनुसारको मिहिनेत पहिलो खेलबाटै हुने जानकारी दिए।

त्यस्तै, कप्तान पारस खड्काले नेपालको लक्ष्य एसियाकपको स्वर्णिम मौका नगुमाउनु भएकाले सोहीअनुसारको लय कायम राख्ने बताए। नेपाल र ओमानबीच प्रतियोगितात्मक पाँच भिडन्तमा पछिल्लो पटक ओमान बलियो रहँदै आएको छ। पछिल्लो पटक २०१८ फेब्रुअरीमा भएको विश्व क्रिकेट लिग डिभिजन टुमा नेपालमाथि ओमानले ६ विकेटको जित निकालेको थियो भने। त्यसअघि २०१४ को मेमा भएको एसिसी प्रिमियर लिग क्रिकेटमा ओमान २ विकेटले विजयी भएको थियो। त्यसअघिका तीन भिडन्तमा भने नेपालले बाजी मारेको थियो। २०१३ को मेमा भएको विश्व क्रिकेट लिग डिभिजन थ्रीमा नेपाल २८ रनले विजयी हुँदा २०१० को अप्रिलमा भएको इलाइट ट्रफीमा नेपाल ६ विकेटले विजयी भएको थियो। त्यसअघि २००२ को जुलाईमा एसिसी ट्रफीकै खेलमा नेपाल १०५ रनको प्रभावसाली जित निकाल्न सफल भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *