Sajhamanch Archive

खर्च विवरण नबुझाउने स्थानीय तहको निकासा रोक्का

Published: in स्थानीय तह by .

संखुवासभा । खर्च विवरण बुझाउन अटेर गर्ने संखुवासभाका दश वटै स्थानीय तहको बजेट कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका), संखुवासभाले निकासा रोक्का गरेको छ।

आर्थिक वर्ष २०७४÷०७५ को बजेट, खर्च र कार्यक्रम विवरण पेश नगरेपछि बजेट निकासा रोक्का गरिएको कार्यालयले जनाएको छ। आर्थिक वर्ष सकिएको १५ दिनभित्र खर्च विवरण पेश गर्नुपर्ने भए पनि समय सिमाभित्र कुनै पनि स्थानीय तहले विवरण पेश नगरेको कोलेनिकाले जनाएको छ।

खर्च विवरण पेश गर्न दश दिनको समय दिएर साउन ६ मा पत्राचार गरिए पनि अहिलेसम्म ६ स्थानीय तहले विवरण पेश नगरेको प्रमुख कोष नियन्त्रक भोजराज पौडेलले जानकारी दिए। कोलेनिकाका अनुसार खाँदबारी, धर्मदेवी, पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिकाले मात्र खर्च बिवरण बुझाएको छ। मादी नगरपालिका, चैनपुर नगरपालिका, भोटखोला, मकालु, चिचिला र सिलिचोङ गाउँपालिकाले खर्च विवरण बुझाएका छैनन्।

स्थानीय तहहरुले विवरण पेश गर्न फरम्याटसम्म लिन नआएको प्रमुख कोष नियन्त्रक पौडेलले बताए। अहिलेसम्म प्राप्त भएको विवरणमध्ये धर्मदेवी नगरपालिकाले मात्र तोकिएको फरम्याटमा पेश गरेको र अन्य तीन स्थानीय तहहरुले उनीहरुको आफ्नै फरम्याटअनुसार बुझाएका छन्। दश तह मध्ये चार तहहरुले खर्च बिवरण पेश गरे पनि बाँकी छ तहले बुझाउन बाँकी भएकाले रकम निकाशा रोकिएको कोलेनिका कार्यालयले जनाएको छ।

कोष नियन्त्रक प्रमुख पौडेलका अनुसार बाँकी रहेका तहहरुले विवरण पेश गरेपछि मात्रै सबै तहको एकै पटक रकम निकासा गरिने बताए। केही स्थानीय तहहरुको खर्च विवरण नबुझाएकाले बेलैमा विवरण बुझाउनेलाई समेत समस्यामा पारेको खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले बताए। अन्य तहहरुको कमजोरीका कारण आफूहरुले पनि सजाय भोग्नु दुःखद् भएको उनको भनाइछ। बजेट रोकिएपछि कार्यक्रम तथा आयोजना सञ्चालन गर्न समस्या भएको खतिवडाको भनाइ छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *