इटहरी। भारतमा दोस्रो लहरको कोरोना देखिएसँगै नेपालको सीमाक्षेत्रमा उच्च सतर्कता अपनाउन प्रहरी तैनाथ हुन थालेको छ ।

प्रदेश १ को सीमाक्षेत्रमा विशेष सुरक्षा अपनाउन प्रदेश १ प्रहरीले मातहतका प्रहरीलाई सर्कुलर गरेको छ । देशभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेपछि प्रदेश १ मा सुरक्षा सतर्कता अपनाउन थालिएको हो ।

प्रदेशको सुनसरी, मोरङ, झापा र इलाम जिल्लाका भारतीय सीमामा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले पहिले झैँ सुरक्षा सतर्कता अपनाउन मातहतका प्रहरी कार्यालयहरूलाई निर्देशन दिएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका एसएसपी गोविन्दकुमार साहका अनुसार सीमा क्षेत्रमा प्रहरीको सबै युनिटलाई ‘अलर्ट’ गरिएको र भारतबाट आउनेहरूलाई नेपाल प्रवेश गर्न कडाइ गरिएको जानकारी दिए । साहले भने, ‘सीमाक्षेत्रमा कार्यरत प्रहरी युनिटलाई बिदा नबस्न र बिदा बसेकाहरूलाई तत्काल आफ्नो कार्यक्षेत्रमा आउन भनिएको छ ।’

सीमाबाट नेपाल प्रवेश गर्नेहरूलाई अनिवार्य पीसीआर रिपोर्ट पेस गरेर मात्र नेपाल प्रवेश गर्न दिन सुरक्षाकर्मीलाई निर्देशन दिएको उनले बताए । ‘कोरोनाको सङ्क्रमण बढेको हो कि भन्ने अवस्था देखिएको छ’ उनले भने, ‘हामीले हदैसम्मको सुरक्षा सतर्कता अपनाउन भनेका छौं ।’

चोर बाटोबाट नेपाल प्रवेश गर्ने कार्यमा निगरानी बढाएको अवस्था छ । जिल्ला प्रशासन कार्यालयको पहलमा नाकाहरूमा हेल्थ डेस्क राख्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । अहिले भारतका विभिन्न प्रदेशमा कोरोनाको सङ्क्रमण ह्वात्तै बढेपछि नेपालीहरू धमाधम फर्किन थालेका छन् । नेपालबाट पनि भारत आउजाउ गर्ने क्रम रोकिएको छैन ।

विभिन्न नाकामा भारतबाट फर्किने नेपालीको एण्टिजेन परीक्षण गर्न थालिएको छ । कतिपय सीमा नाकामा स्वास्थ्य जाँचपछि मात्रै प्रवेश गर्न अनुमति दिइँदै छ । प्रदेश १ का मुख्य दुई नाकामध्ये रानी–जोगबनी बन्द प्रायः छ । तर, काँकडभिट्टा–पानीट्याङ्कीबाट बाक्लो आउजाउ छ । सरकारले एक महिनाअघि अनलाइन फारम भरेपछि भारतीयलाई प्रवेश गर्न दिने नियम बनाएको थियो ।

रानी–जोगबनीबाट सोही नियममा रही दैनिक १०–१२ जना मात्र आवत–जावत गर्छन् । तर, हजारौँले चोर बाटो रोज्ने गरेका छन् । ‘हामी सीमाक्षेत्रमा अहिले केही कडाइ गर्दै छौं’ –एसएसपी साहले भने ।

होली नखेल्न उर्दी

जिल्ला प्रशासन कार्यालय सुनसरी, झापा र मोरङले पछिल्लो केही दिनयता कोभिड–१९ का बिरामी बढेको भन्दै सचेत रहन सूचना जारी गरेको छ ।

साथै भीडभाड गरेर होली नखेल्नसमेत सर्वसाधारणलाई आग्रह गरिएको छ । नजिकिँदै गरेको होली पर्वमा समेत भीडभाड नगर्न प्रशासनले उर्दी जारी गरेको छ ।

फागु पूर्णिमा अर्थात् होलीमा भीडबाट जोगिने, जमघट नगर्ने, सेनिटाइजर, मास्क र सामाजिक दूरी कायम गर्न भनिएको छ । त्यस्तै स्थानीय तहले पहिले सञ्चालनमा ल्याएका आइसोलेसन र क्वारेण्टाइन तयारी अवस्थामा राख्नसमेत प्रशासनले निर्देशन दिएको छ ।