Sajhamanch Archive

काँकरभिट्टामा जौँ र गहुँको जुस पिउँनेको भीड

Published: (Updated: ) in मुख्य समाचार, समाज, by .

मेचीनगर । जौँ र गहुँको जुसका पारखी थपिँदै गएका छन् । काँकरभिट्टाको एउटा जुस वारमा दैनिक देखिने भीडले पनि यसको पुष्टि गर्छ । स्वास्थ्यका लागि अति आवश्यक भएकाले विभिन्न रोगका विरामीहरु काँकरभिट्टाको ‘अरोमा जुस बार’ मा आइपुग्छन् । यहाँ जौँ र गहुँको जुस पिउन सर्वसाधारणको घुइँचो लाग्छ ।

पछिल्लो समय जौँ र गहुँको जुसको माग बढ्दै गएको छ । जौँ र गहुँको जमराबाट उत्पादन हुने जुसले विभिन्न रोगसँग लड्ने क्षमता राख्ने हुँदा माग बढ्दै गएको व्यवसायी बताउँछन् । बिहान शारीरिक व्यायामपछि जौँ र गहुँको जमराबाट बनेको जुस पिउन आउनेको भीड लाग्ने गरेको अरोमा जुस बारकी सञ्चालक बविता थापा बताउँछिन् ।

मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टामा थापाले जौँ र गहुँको जमरा उत्पादन गर्दै आएकी छन् । त्यसबाट बनाइएको जुसमा उपभोक्ताको आकर्षण बढेको हो । तीन महिना अघि मात्रै काँकरभिट्टमा अरोमा जुस वार शुरु गरिएको हो । काठमाडौँमा जौँ र गहुँको जमरा उत्पादन तथा बिक्री वितरणमा राम्रो व्यापार देखेकी ३५ वर्षीया थापाले काँकरभिट्टामा पनि त्यसको सम्भावना देखेर व्यवसाय शुरु गरेकी हुन् ।

काँकरभिट्टाकी रैथाने थापाले केही वर्ष काठमाडौँमा बसेर अध्ययन गरिरहेकी थिइन् । कृषि क्षेत्रमा रुचि राख्ने थापा आफ्नो ठाउँमा नै केही गरौँ भनेर मेचीनगर आएकी हुन् । उनलाई उक्त व्यवसायका लागि श्रीमान बिक्रम, बहिनी विनिता तथा आमा डम्बरकुमारी र बुबा बलराम थापालगायतले साथ दिएका छन् ।

एक जना सहयोगी राखेर उनले दैनिक ३० वटा ट्रेमा जमरा उत्पादन गरिरहेकी छन् । बिहान दैनिक २५ देखि ३० जना मानिस पसलमा जुस पिउन आउने गरेको थापाले जानकारी दिइन् । उनले जुस पिउनेको संख्या क्रमशः बढ्न थालेकाले हप्ता दिन पर्खिनु पर्ने बताइन् । जौँ र गहुँको जमरा उत्पादन गर्न करिव ९ देखि ११ दिनसम्म लाग्ने गर्छ ।

ग्राहकहरूलाई उनले हाते मेसिन प्रयोग गरेर तत्कालै जमरा पेलेर ताजा जुस दिने गरेकी छन् । अर्गानिक जमराको जुसले क्यान्सर, प्रेसर, महिलामा हुने महिनावारी गड्बडी, थाइराईड, नसा सम्बन्धी रोगका विरामीलाई फाइदा हुने भएकाले त्यस्ता रोगीहरु दिनहुँ जुस पिउन आउने गरेको अर्की सञ्चालक विनिता थापाले बताइन् ।

‘जैविक रूपमा उत्पादन गरिएको जौँ र गहुँको जमराको जुसले विभिन्न रोगसँग लड्ने क्षमता राख्छ । त्यो जुस स्वास्थ्यका लागि लाभदायक छ,’ उनले भनिन्, ‘जसले यो कुरा बुझेको छ, त्यो मानिस अवश्य जुस पिउन आउँछ ।’ उनले जुस बारमा जौँ र गहुँको जुसका साथमा अन्य फलफुलका परिकार पनि राखेको बताइन् ।

केही समयपछि बारमा मोरिङ्गा जुस, जिङ्जर सर्टलगायत जुसका परिकार थप्ने उनले जानकारी दिइन् । ‘मांसाहारी चिजले मात्र स्वास्थ्यलाई हेल्दी बनाउने होइन’, विनिताले भनिन्, ‘फ्रुड्सले मानिसलाई स्वास्थ्य जीवन व्यतित गर्न धेरै मद्दत गर्छ । मानिस स्वस्थ्य रहन पनि फलफुल खान आवश्यक छ ।’ उनले भनिन्, ‘मांसाहारीले हेर्दा हेल्दी देखिए पनि रोग बढेको थाहा हुँदैन । तर, फ्रुड्सले शरीरलाई हेल्दी बनाउनेमा दुई मत छैन ।’

जैविक रूपमा उत्पादन गरिएको जौँ र गहुँको जुस आफ्नो स्वास्थ्य समस्या हेरी नियमित मात्रामा सेवन गर्न सक्ने हो भने अधिकांश रोगीलाई फाइदा पुग्ने भद्रपुरस्थित जिल्ला आर्युर्वेदिक कार्यालय झापाका प्रमुख डा. केनिन राई बताउँछन् । शरीरलाई चाहिने पोषक तत्वहरु सन्तुलनका लागि पनि प्रोटिन र कार्वोहाईडेट भएकाले जौँ र गहुँको जुस स्वस्थ्यकर हुने राईले बताए ।

उनका अनुसार क्यान्सर, डाइविटिज लगायतका रोगीले यस्तो जुस पिउँदा लाभदायक नै हुनेछ । जौँ र गहुँको जमराबाट बनाएको जुसमा रोगसँग लड्ने क्षमता बढी हुने हुँदा विभिन्न किसिमका बाथ रोग, चिनी रोगलगायत बहुसंख्यक रोगलाई उपयोगी हुने राईले बताए । ‘जौँ र गहुँको जुसमा भिटामिन बी, भिटामिन सी, इन्जाइम, खनिजलगायतका तत्व प्रशस्त मात्रामा पाइने हुँदा त्यो स्वास्थ्यवर्धक हुन्छ,’ उनले भने । तर, उनले रसायनिक मल र विषादीको प्रयोगबाट उमारेको जमराको जुस भने सेवन गर्न नहुने सल्लाह दिए ।

‘रासायनिक मल र विषादीको प्रयोगबाट उत्पादन गरिएको जुसले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने हुँदा त्यसप्रति सचेत रहनुपर्छ,’ राईको सुझाव छ । जैविक रुपमा उत्पादित जौँ र गहुँको जुसमा रोग प्रतिरोधात्मक शक्ति हुने हुँदा पछिल्लो समय जमराको जुस पिउनेको संख्या बढिरहेको छ । धेरैको आकर्षण बढेको जमराको जुस काँकरभिट्टामा सामान्य सिसाको गिलासको ३० एमएलको ५० रुपैयाँ पर्छ ।

मेचीनगर—६ स्थित काँकरभिट्टा निवासी नवराज खनियाँले आफू र आफ्नी पत्नी लक्ष्मीले जमराको जुस पिउन थालेपछि स्वास्थ्यमा धेरै लाभ मिलेको अनुभव सुनाए । ‘आज आएर औषधिहरुको मात्रा घटाउने क्रममा छाँै र नियमित जुस सेवन गर्दै आएका छौँ । हाम्रो स्वास्थ्य अहिले ठीक हुँदै गएको छ,’ उनले भने । उनले पत्नी लक्ष्मीलाई सुगर, पेसरको समस्या रहेको बताए । लामो समयसम्म उपचार गर्दा पनि सञ्चो नभएको तर, जमराको जुस सेवनपछि केही प्रतिशत सुधार आउन थालेको उनले जानकारी दिए ।

मेची अञ्चल अस्पताल भद्रपुरका प्रमुख डा. पिताम्बर ठाकुरले जमराको जुसको नियमित सेवनले शरीरमा स्फूर्ति बढाउने, पाचन शक्ति मजवुत बनाउने, रगत सफा राख्नेजस्ता फाइदा हुने जानकारी दिए । ‘जौँ र गहुँमा प्रोटिन धेरै र कार्वोहाईडेट कम हुन्छ’, चिकित्सक ठाकुरले भने, ‘यसको रोटी खाँदा राम्रो हुन्छ भने सुगर र पे्रसरका विरामीले झन् जमराबाट उमारेको जुस पिउँदा राम्रो नहुने भन्ने कुरै छैन् ।’

‘मेरो मोटोपना धेरै कम भइसक्यो । आज म स्वस्थ र फूर्तिलो भएको छु,’ स्थानीय उषा प्रधानले भनिन्, ‘गत जेठदेखि ‘जौँ र गहुँको जुस खान थालेको छु । मेरो हातको औँला छेउमा आएको गाठागुट्ठिी हरायो ।’ मेचीनगर—६ का वडा अध्यक्ष ललितबहादुर तामाङका अनुसार जौँ र गहुँको जुस स्वास्थ्यवर्धक चिज हो । यो रोग लाग्ने व्यक्ति वा नलागेकाले पनि खाँदा राम्रो हुन्छ ।

‘मलाई रोग त केहि लागेको छैन’, स्थानीय चम्पा नेम्वाङले भनिन् ‘तर, स्वास्थ्यका लागि लाभदायक नै लागेर नियमित जुस पिउन थालेको छु ।’ व्यवसायी थापाले आफूले उत्पादन गर्दै आएको जुस जैविक भएको दावी गरिन् । उनले विउ, माटो र मल झापा र उदयपुरबाट ल्याइएको बताइन् । ‘अर्गानिक जमरा र जुस उत्पादन गर्न सजिलो छैन, माटोदेखि मल पनि विशेष हुन आवश्यक छ,’ थापाले भनिन् ।

‘मेरो श्रीमती रेणुले पनि एक महिना भयो नियमित जुस पिउन थालेको’ दिनेश घिमिरेले भने, ‘मधुमेह र टाउको दुखेर माइग्रेन भइसकेको उनलाई जुस पिएपछि अलिक राम्रो भएको छ । चार सय पुगेको मधुमेह अहिले घटेर २ सयमा झरेको छ ।’

पछिल्लो समय जौँ र गहुँको जमरा उत्पादन तथा त्यसको जुस बिक्री वितरण हुँदै आएको भए पनि त्यसमा सावधानी अपनाउन आवश्यक रहेको जानकारहरुले बताएका छन् ।

स्वास्थ्य लाभको लागि खाने जुस भनिए अनुरुप जैविक भएन भने त्यसले झनै विरामीको स्वास्थ्यमा प्रतिकुल असर पुग्ने हुँदा जुस उत्पादन गरिरहेका यस्ता केन्द्रहरुमा निगरानी आवश्यक रहेको उपभोक्ताको धारणा छ । चिकित्सक राईका अनुसार जौँ र गहुँको जुस बिक्री वितरण गर्नु ठिक छ । तर, व्यवसायिकरणको नाममा जुसमा अन्य विषादी भने मिसाउन नपाउने उनको भनाइ छ ।

स्वास्थ्यका लागि अति आवश्यक चिज भएकोले जौँ र गहुँको जुसको व्यवसाय झापामा फस्टाउने जनाकारहरु बताउँछन् । निकट भविष्यमा नै दमक, सुरुङ्गा, भद्रपुर र बिर्तामाडमा यसको व्यवसाय शुरु हुने बिर्तामोड—५ का फलफुल व्यवसायी मनोज सहनीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *