Sajhamanch Archive

हजुरआमाको भाइरल विवाहउत्सव साँच्चै उदाहरणीय

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, by .

केही दिन भएछ टिकटक नखोलेको । नयाँ कुरा के आएको होला भनेर खोल्न मन लाग्यो । खोलेँ, यसो हेर्ने बित्तिकै अहिले सामाजिक संजालमा जताततै भाइरल भएको पूर्वबैंकर रविना देशराज श्रेष्ठका भिडियोहरु देखेँ । मेहेन्दी लगाउँदै गरिएको पारिवारिक तस्विर अनि अर्को दिन बेहुला बनेका विदेशी नागरिकले उनको गोडामा नै निहुरेर ढोगेको दृश्य । मेरो अगाडि बसेकी साथी रेनुलाई सोधेँ, प्रियङ्काको सासुले विहे गरेको हो र ?

तिमीले हेरेको थिएनौ र टिकटकभर भाइरल छ त ! हेरेको थिइन, अहिले पो देख्दैछु मैले भनेँ । टिकटक जतिबेरसम्म हेरेँ त्यत्ति नै समय मैले उहाँका भिडियोहरु मात्रै देखे । हेरौं हेरौँ लाग्यो एकछिन हेरिरहे ।

रविना देशराज श्रेष्ठ पूर्वबैंकर मात्र नभएर राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार विजेता, केही चलचित्रमा अभिनय पनि गरेकी, सन् २०१८ मा एक पत्रिकाद्वारा प्रकाशित नेपालको ऐतिहासिक महिलाको सूचिमा पर्न सफल, उद्यमशील महिला । संकुचित सोचबाट टाढै रहने एक शसक्त महिला हुन् रविना देशराज ।

त्यहीँ माथि नेपालको चर्चित नायिका प्रियङ्का कार्कीको परिवार । त्यही भएर पनि उहाँहरुको बोरमा सबैलाई जान्न मन लाग्नु स्वभाविक नै हो । त्यही कारण अहिले सबैका लागि चासोको विषय बन्यो रविनाको विवाह ।

भिडियोहरु हेर्दैगर्दा छोरा, बुहारी, नातिनी अनि सम्धिनी नाचिरहेको एकअर्कामा खुसी बाँढिरहेको दृश्य । वा…..उ…, कस्तो राम्रो सोच भएको परिवार होला मनले भन्यो । पुरुषले जतिवटीसँग विवाह गर्दा पनि सहजै स्वीकार्ने नेपाली सामाजले महिलाको दोस्रो विवाह, त्यो पनि विदेशी पुरुषसँग अनि हजुरआमा भएकी महिलाको त्यो विवाह । सुन्दा अनौठो, पत्यार नलाग्ने भए पनि परिवारका सबै सदस्यको अनुमतिमा उनीहरुकै उपस्थितिमा रमझमको साथमा यसरी विवाह गरेको हामी धेरैले पहिलो पटक नै देखेका हौंला !?।

उनका डिभोर्सी श्रीमानले धेरै अगाडि अर्की महिलासँग विवाह गरे । आफ्नो जिन्दगी हाँसीखुसीको साथमा बिताइरहेको सुनिन्छ । श्रीमानले अर्को विवाह गर्दा हुने, उसले सायदै केही सुन्न परेन । अनि महिलाले फेरि विवाह गर्दा चाहिँ किन यत्रौ आलोचना ? टिकटकमा फेरि आँखा डुलाएँ, अहिले म कमेन्ट्सहरु पढिरहेकी छु । कमेन्टहरु धेरैजसो सकारात्मक नै छन् । नेपाली समाजका लागि यो विवाह प्रेरणादायी पनि छ । साँच्चै नेपालकै पहिलो उदाहरणीय परिवार होला जस्ता प्रतिक्रियाहरु पढेँ । तिनैमध्येको एक प्रतिक्रिया यस्तो थियो, ‘दुधे बच्चा छाडेर पैला जानेभन्दा आफ्नो बालबच्चा हुर्काई बुढेसकालमा सहारा रोज्नु भनेको नराम्रो होइन, आमाको विवाह गरिदिने महान छोराहरु ।’

तर केहीले गाली पनि गरेका रहेछन्, बुढेसकालमा के को रहर अनि यस्तै केही नकारात्मक भाव झल्कनेहरु …. । थोरै बाहेक धेरैले राम्रो भनेको देखेर ओहो अब चाहिँ हाम्रो समाज अलि बुझ्ने भएछ भन्ने पनि लाग्यो । उनी यत्तिका समयसम्म आफ्नो जिम्मेवारी र कर्तव्यबाट कहिलै भागिनन् । आफ्ना कर्तव्यहरु पूरा गरेर अब आफ्नो लागि जिउँछु र बाँकी समय कसैसँग विवाह गरेर बिताउछु भन्नु गलत हो र ?

अरुको खुसीभन्दा आफ्नो खुसी ठूलो कुरा हो । पहिला आफू अनि समाज आउँछ भन्ने कुरालाई सायद यो परिवारले राम्रो बुझ्यो । त्यसैले त आमाको खुसीको लागि छोराहरु जुटे, आमाको सानो सानो खुसीलाई अझ कसरी विशेष बनाउन सकिन्छ भनेर लागिरहे । संसारलाई भुलेर उनले पनि हुनेवाला श्रीमानसँग प्रत्येक क्षणको मज्जा लिइरहिन् ।

कुनै पनि समबन्ध टुट्नु भनेको पक्कै राम्रो होइन । त्यहीँ माथि वैवाहिक सम्बन्ध टुट्नु त नेपाली समाजको लागि धेरै नराम्रो कुरा हो । त्यसमा नि छोरीको लागि त धेरै पीडादायक छ । छोरी गलत छैन भने पनि छोरीलाई नै गलत देखाउने हाम्रो समाजको प्रवृत्ति छ । सानै उमेरबाट छोरीले सहनु पर्छ है भन्ने सिकाइन्छ । छोरा र छोरी उस्तै हो । खुसी हुने अधिकार दुवैलाई उत्तिकै छ । बोल्नु पर्छ आफ्नो लागि आवाज उठाउनु पर्छ भनेर कहिल्यै सिकाइएन ।

‘विवाह गरेर छोरीलाई घर पठाउँदा गरेर खान सकिनस्, नन्द, आमाजु, सासू, ससुरा, लोग्नेलाई रिझाइनस् भने त्यहीँपरको खोलामा हामफाल्नु तर फर्केर रुँदै माइत चाहिँ नआउनु भनेर छोरी अन्माइन्थ्यो रे’ हामीलाई हजुरआमाले भन्नुहुन्थ्यो । मारे पाप पाले पुण्य भनेर कन्यादान दिन थालियो आमाको पालामा । हजुरआमा र आमाको पालामा छोरीको दुख, पीडा, व्यथा, हाँसो खुसी, रोदन, इच्छा, आकांक्षा, रहर केही बुझेन परिवारले, न त सामजले नै बुझ्न चाहान्थ्यो । छोरीलाई एउटा बस्तुको रुपमा लिइयो ।

सायद त्यतिखेरको समय पनि त्यस्तै थियो होला । बिस्तारै सबै कुरामा परिवर्तन हुँदै आएको छ । र, हुनु पनि पर्छ । ८० वर्षको पुरुषलाई बुढेसकालमा जीवन चलाउन गाह्रो हुन्छ । बुढेसकालको साहारा भनेर विवाह गर्दिने हाम्रो समाजले किन महिलालाई पुरुषसरह सोच्न र व्यवहार गर्न सकेन ।

जोडेको सम्बन्ध सकिन्छ जुनीभर गाँसिरहोस् । अजम्बरी होस् । तर सम्बन्ध टुट्ने पो हो कि ! अनि समाजले पो के भन्ने हो कि भन्ने डरले पलपल मरेर जिउनुको अर्थ छैन । व्याइफ्रेन्डले, श्रीमानले छोडेको वा पारिवारिक बेमेलले बुहारीहरुलाई मानसिक तनाव भइरहेको हुनसक्छ । कतिपयले मेरो त सर्वस्व सकियो भनेर मर्न तयार हुन्छन् । तर रविनाको यो खुसीयाली सम्झँदा बल्ल बल्ल पाएको एकबारको जीवन अरुको लागि त्याग्न् मुर्खता हो भन्ने पनि सबैलो बुझ्न जरुरी छ ।

रविना देशराज, जसको खुसीमा अहिले धेरै महिलाहरु खुसी छन् । साहसिली, हिम्मतवाली, आत्मनिर्भर र फराकिलो सोच भएकी रविना आज देशकै उदाहरणीय बनिन् । समस्यादेखि भागेर होइन जुधेर अगाडि बढ्ने रविना देशराजजस्ता हजारौ छोरीहरु अबको समाजले परिकल्पना गरोस् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *